उ, हेर यतै आउँदै छ;
त्यो आगो को मुस्लो!
तिव्र वेगका साथ
दन्कँदै छ, फडफडाउँदै छ!
हो, यसपालि त,
यसले अबश्य जलाउँछ,
यो पुरानो निर्लज्ज पर्खाल!
साबधान!!
पानी हाल्ने कोशिस नगर।
यसपालिको आगो,
पानीले नै सल्किएको हो!
जति पानी खन्याउँछौ,
त्यति यो दन्कन्छ!
हेर त उ, यतै आउँदै छ;
गड्गडाउँदो भेल!
चट्टानलाई चिर्दै।
सुकेको खहरे सम्झनेहरु,
लौ हेर।
तिमीले रोक्नै नसक्ने बाढि
उर्लेर आउँदै छ।
साबधान!!
प्रयास नगर यसलाई रोक्ने!
यसपालीको भेल,
तिमीले रोकेर नै बल्झेको हो!
जति रोक्छौ,
त्यति जम्छ र अझ शक्तिवान बन्छ।
अनि फोर्छ यसले तिम्रो बाँध
अघि भन्दा अझ तिव्र बेगले!
लौ हेर, उडेर जाँदैछ
त्यो कालो बादल!
अब अन्धकार धेरै टिक्दैन।
हावा बहेको छ
तर हिजोअस्ति भन्दा विपरित!
बादललाई उडाउँदै छ
पर कतै तिर
अनकन्टार अन्न्तमा!
उ, तारा झिल्मिलाउँदै छन्!
बिस्तारै लाखौँ ताराले,
धरती झलमल पार्नेछन्!
अनि, भोलिको सुर्योदय संगै,
मेरि आमा हाँस्ने छिन!
उन्मुक्त हाँस्ने छिन!
स्वतन्त्र हाँस्नेछिन!
No comments:
Post a Comment