Wednesday, May 30, 2012

परेवाको विद्रोह MAY 2012 13:02 स्वागत नेपाल

प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार गणतन्त्र दिवसका दिन उडाउन खोज्दा शान्ति र स्वतन्त्रताको प्रतीक परेवा उड्नै मानेेन। परेवा उड्न खोजेर पनि फेरि फर्किएर आयो। लाग्थ्यो, परेवाले उनलाई सोधिरहेको छ - 'तिमी लोकका सामु चाहिँ मलाई स्वतन्त्रता दिएको देखाउन उडाउँछौ तर पहिले जालमा पारेर पत्रे्कर ल्याउँछौ। तिमीले मलाई उडाएको सबैले देख्छन् तर यहाँ उडाएको देखाउन हिजै साँझदेखि बन्दी बनाएर राखेको र कोक्रोमा कोचेर ल्याएको कसैले देख्दैन। बाहिर स्वतन्त्रता दिएको देखाउनु तिमी भित्र त अर्कै छौ नि होइन? '
परेवालाई स्वतन्त्र बनाएको देखाउन पहिले उसलाई जालका पारेर थुनेर राख्नु र जनताको हक खोसेर गणतन्त्र दिवस मनाउनु पनि त उस्तै हो। आधुनिक राजनीतिले जे भने पनि यजुर्वेद ऋचा १६।५१ मा गणतन्त्रलाई गणहरूको विचारअनुसारको शासन भनिएको छ। नन्दी भृंगीदेखिको तत्कालीन सैन्य गणलाई पनि सात फेरा पृथ्वी घुम्ने परिश्रमी कुमारजीभन्दा 'हजुर नै मेरो पृथ्वी स्वर्ग सबै हो' भनेर चाकरी गर्ने गणेशले गणपति बनेर घुमाएको उदाहरण हामीसँग छँदैछ। संस्कृतको गणतन्त्र गणहरूले चलाउने तन्त्र हो। हालसम्म पनि सैनिक संरचनामा नन्दी भृंगीदेखिका सैनिक गण कायम छन्। भट्टराईले पनि परेवा उडाइरहेको बेला पूर्व लडाकुहरूको गणलाई सम्भि्करहेका थिए कि?।
चर्को राष्ट्रभक्तिको नारा सुनेर विदेशीले मिचेको यिनले भूमि फिर्ता गर्लान् कि भन्ने आशा गरेर भोट हाल्नेहरूका मनमा भएको पनि जमिन टुक्राटुक्रा पार्न खोजेपछि कस्तो भयो होला? यही विश्वासमा ज्यान तर्पेका कार्यकर्ताले के ठाने होलान्? मानिसको अन्तराष्ट्रिय जाति हुनेछ भनेर गीत गाएको सुनेर होला कि त भन्दै पत्याउनेहरू आफ्नै नेताले टोलटोलमा जातीय राज्यका नाममा देशको बिलो बाँड्न ठिक्क परेपछि अरू पार्टीका कार्यकर्ताले नदेख्ने गरी घरभित्रै मुन्टो लुकाएर रोएनन् होला र तिनीहरू? भित्रभित्रै तिम्रो जाति, तिम्रो रगत, हाम्रो जाति हाम्रो रगत भिन्नाभिन्नै हो भन्ने पाठ घोकाएर मर्न मार्न तयार गराएको थाहा पाएकैले पो तिम्रो जात के हो भनेर सोध्न परेवा उनीतिरै फर्किएको पो हो कि?
परेवाले भनिरहेको जस्तो लाग्यो -मलाई यहाँ उँडाएर स्वतन्त्र देखाउने बाबुरामले मेरो हक पहिल्यै बन्दी बनाएर हिजै साँझदेखि नै खोसी सकेका हुन्। यो समारोहमा ल्याउनलाई मलाई बन्दी बनाइएको थियो। यिनीहरू यसै यसै गर्छन्। यिनका कुरा नपत्याउनुहोस्। यिनका अघि उभिएर जति पनि कार्यकर्ता, कर्मचारी लडाकु सबैले हामी ठिकठाक छौँ भने पनि त्यहाँभित्रै तिनको हक छिनिएको हुन्छ मेरोजस्तै। जुन कसैले देख्दैन। उनको मर्जीमा तिनैका सामु उभिएरमात्र म स्वतन्त्र छु भन्नुपर्छ। त्यही सबैले सुन्छन्।
यिनले तै पनि अरूले संविधान बनाउन दिएनन् भने। उनले 'मैले निर्वाचन आयोगसँग आफैँलेसोधेको छु समयमा चुनाव गराउन सकिन्छ कि सकिन्न भनेर पनि भने। अर्थात्, आफ्नो भित्री तयारीको पर्दाफास आफैँले मध्यरातको टेलीभाषणमा गरे। बोल्नै पर्ने बेलामा बोली नफुट्ने सुवास नेम्बांगले पनि अन्तिम अवस्थामा सभामुख वा अध्यक्ष नबनी एमाले कार्यकर्ता भएर संविधान सभाको बैठक सुरु नै नगरी पार्टी निर्देशनअनुसार संविधान सभा भंग गराए। उनको खेल बुझ्न जनतालाई बुद्धि खियाइरहनु पर्दैन। तैपनि, अब उनको बोली फुटने्छ फेरि कुनै दिन सन्त वाणीका रूपमा।
बोली एउटा र व्यवहार अर्कै। पहिल्यै परेवाको स्वतन्त्रता खोसेर स्वतन्त्र बनाएको देखाउने पाखण्डीहरूले सैनिकको गणले चलाउने शासनभन्दा पनि बढी तानाशाही रूपमा गणतन्त्र दिवस मनाए। त्यसैले त्यो निर्दोष पंक्षीले देखावटी स्वतन्त्रतामा उड्न नमानेर विद्रोह गरेको त हैन? परेवाको स्वतन्त्रता पहिल्यै खोस्ने अनि स्वतन्त्र बनाएको ढोंग रच्ने गरेजस्तै आस्थाको स्वतन्त्रताको नारा दिएर व्यवहारमा वैचारिक सैनिक शासन लाद्ने खेल अब बन्द गर!

1 comment: