Saturday, June 2, 2012

अपराधभित्रको राजनीति


न्यायाधीश बमको हत्यालाई राजनीतिक दृष्टिकोणबाट विश्लेषण गरिएको छ। अहिलेको अवस्थामा राज्य असफल छ र यहाँ कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिन चाहनेसमेत सक्रिय भएको हुनसक्ने उनीहरुको आकलन छ।
संविधानबिनै संविधानसभाको विघटनले निम्त्याएको संवैधानिक संकट र सरकारले घोषणा गरेको चुनावप्रति प्रतिस्पर्धी दलको प्रतिक्रियाले बढाएको अन्योलमा कुनै राजनीतिक शक्तिले 'अपराधको खेल' खेलेको पनि हुनसक्छ।
वैध बाटोबाट सरकारलाई अप्ठ्यारो पार्न नसकेको अवस्थामा सत्ताबाहिरका राजनीतिक शक्तिले अपराधको सहयोग लिएका घटनाले समेत बम हत्याको आपराधिक घटनालाई राजनीतिक आँखाले हेर्नुपर्ने देखिन्छ। 
केही वर्षअगाडि कोटेश्वरमा माओवादी नेता शक्ति बस्नेतमाथि भएको गोली प्रहारको घटना, ललितपुरको एजप्सन चर्चको बम विष्फोट, माओवादी मजदुर नेता शालिकराम जमकट्टेलमाथिको सांघातिक आक्रमण, जनकपुर बम विष्फोट, उपत्यकाका सार्वजनिक सवारी साधनमा शृंखलाबद्ध रुपमा राखिएको बमका घटना र बबरमहलमा भएको बम विष्फोटका घटना राजनीतिक उद्धेश्यका लागि गरिएको अपराधका प्रमाण हुन्। 
जनकपुर बम विष्फोटमा राजनीतिक आवरणमा आपराधिक गतिविधिमा सक्रिय सन्तोष चौधरीको नाम सार्वजनिक भए पनि प्रहरी अनुसन्धानमै तराई केन्द्रित राजनीतिमा सक्रिय दलका केही नेताको सम्बन्धसमेत देखिएको थियो। तर, पुष्टि हुने प्रमाणको आधारमा ती नेताको नाम सार्वजनिक गरिएको छैन।
संयुक्त जातीय मुक्ति मोर्चाको नाममा विश्वक्रान्ति भनिने देवराज लामाको सम्पर्क र सम्बन्ध सत्ताधारी दलका प्रभावशाली नेता र पूर्व राजावादीहरुसँग रहेको खुलेको नै हो। शक्ति बस्नेतमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानमा एक मातासहितका सहयोगी पक्राउ परे पनि अनुसन्धानले योजनामा सक्रिय राजतन्त्रका पक्षधर केही नेताको संलग्नता देखिएको थियो। 
जमकट्टेलको हत्या प्रयासमा पार्टीभित्रकै प्रतिष्पर्धी समुहको संलग्नता प्रहरीले खुलाएको थियो। एजप्सन चर्चमा भएको विष्फोटको अनुसन्धानका क्रममा राप्रपा नेपालका केही नेताको नाम पोलिएको थियो। उपत्यकामा सार्वजनिक बसमा बम राखिएको त्रास फैलाएको अभियोगमा पक्राउ परेकाहरु माओवादीका पूर्व लडाकु रहेको सार्वजनिक भएकै हो। 
न्यायाधीश बमको हत्यालाई राजनीतिसँग जोडेर विश्लेषण गर्नु हतारो हुनसक्ने भए पनि तरल र अस्थिर परिस्थितिमा राजनीतिक स्वार्थ पूरा गर्ने दाउपेच हुनसक्ने पूर्व गृहमन्त्री भीम रावलको विश्लेषण छ।
'हत्याको कारण अनुसन्धानबाट खुल्ने हो,' रावलले नागरिकसँग भने, 'तर यो घटनाले जटिल राजनीतिक स्थितिको छिट्टै समाधान नगरिए मुलुक बहुआयामिक विपत्तिमा फस्ने संकेत भने हो।' 
पूर्व एआइजी सिंह बमको हत्याको कारण अहिले नै यकिन गर्न सकिने अवस्था नभए पनि सबै विकल्प खुला रहेको बताउँछन्। हत्याको प्रकृतिका आधारमा ज्यादै संवेदनशिल घटना भएको बताउँदै उनले तत्काल सरकारले अन्योल मेट्नुपर्नेमा जोड दिए। 
'यसै हो भन्न सकिने अवस्था छैन, जे पनि हुनसक्छ,' उनले भने, 'अहिलेको अवस्थामा सबै विकल्प खुला देख्छु।'
पूर्व डिआइजी जिसीले बमक हत्यालाई राजनीतिक दृष्टीकोणले विष्लेशण गर्न चाहेनन्। उनले भने 'सर्वोच्च अदालतको संविधान सभा, निर्वाचन आदीबारे गरेको आदेशसँग बमको हत्या जोडिए मुलुकका लागी ज्यादै दुर्भाग्यपूर्ण हुनेछ।'
सबैको ध्यान एकै विषयमा केन्द्रित भएको अवस्थामा ध्यान विकेन्द्रित गराउन सत्ताधारीले समेत अपराधमार्फत आतंक नमच्याउने होइनन्। 'अहिलेको अवस्थामा राज्यले यस्तो जोखिम मोल्दैन, आतंक मच्याउँदा सरकार आफैं कमजोर हुने हो,' नाम उल्लेख गर्न नचाहने एक सुरक्षाविज्ञले भने, 'राजनीतिक दलभित्र विभिन्न प्रकृतिका व्यक्ति भएकाले यो अस्थिरतालाई थप गम्भीर बनाउन चाहनेको संलग्नतालाई नजरअन्दाज गर्न भने मिल्दैन।'
बढ्दो अस्थिरतामा छिमेकी मुलुकका खुफिया एजेन्सीहरुसमेत खेल्ने गरेका घटनाका आधारमा उतातिर टेढो आँखा लगाउन सुझाउनेहरु पनि छन्। काठमाडौंमा भएका जमिम साह,फैजान अहमद हत्या, युनुस हत्या प्रयासजस्ता हाई प्रोफाइलका अपराधको योजना निर्माणमा भारतीय खुफिया एजेन्सीका केही सदस्यको सहकार्यका संकेत नदेखिएका पनि होइनन्। 
व्यक्तिगत कारणबाहेकको अवस्थामा बमको हत्या भएको हो भने अनुसन्धानलाई त्यतातिर समेत मोड्न अपराध अनुसन्धानका अनुभवी एक पूर्व सुरक्षा अधिकारीले सुझाए।
'यसोभन्दा अतिरञ्जितजस्तो देखिन पनि सक्छ तर, सात वर्षअगाडि लेबनानमा भएको पूर्व प्रधानमन्त्रीको हत्या बिर्सनुहुन्न,' तिनले भने 'लेबनानमा अन्योल बढिरहेका बेला छिमेकी मुलुक सिरियाको गुप्तचर निकायको योजनामा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरारीको हत्या भएको राष्ट्रसंघको छानबिनमै देखिएको थियो।'

No comments:

Post a Comment