Thursday, June 28, 2012

ओझेल परेका समाचार र खबर बनेका गँजडी गफ !


लेखक: दिलीप आचार्य 

नेताहरू बोल्छन्, बोली नै रहन्छन्, तिनको काम नै त्यही भा’छ । अनि आफैँले बोलेको कुरा पनि दोहर्‍याने, तेहर्‍याने वा समय र स्थिति हेरेर बङ्गाउने वा बिलकुल उल्टा वक्तव्य दिन पनि तिनिहरू पछि पर्दैनन् । तर के तीनले जति चोटि बोल्छन्, त्यति पटक नै त्यही पुरानो, बासी र नितान्त बोल्नको लागि मात्रै बोलिएका अर्थ हीन वक्तव्यहरू दोहर्‍याएर, तेहर्‍याएर छाप्दैजानु वा देखाउँदै जानु नै मिडियाको काम हो त ? । मलाई लाग्छ जहाँसम्म तीनका बोलाइमा समेत कुनै नवीनता हुँदैनन्, त्यति बेलासम्म तिनका बोली र वक्तव्यलाई मिडियामा स्थान दिनुको कुनै महत्व हुँदैन् ।

कुरो सानो जस्तो लाग्न सक्छ, तर म प्राय: सोच्ने गर्छु यसरी खबर नबन्नु पर्ने चर्चाले मिडिया भरिदाँ, समाचार बन्न सक्ने कत्ति घटना ओझेल परे होलान् । 

· सरकार असफल भइसक्यो,

· सहमतिय सरकार विना शान्ति र संविधान असंभव, 

· सहमतिको सरकार बनाउन शीर्ष नेता सहमत,

· बाबुराम कै नेतृत्वमा सहमतिय सरकार बन्छ, 
प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्छ भन्न सुहाएनः
सरकारी निर्णय नउल्टाए शान्ति र संविधान प्रक्रिया नै प्रभावित हुने
फलानो द्वारा तीन दल एक हुने प्रस्ट,
ढिस्कनो द्वारा तीन दलको बीचमा गम्भीर मतभेद रहेको खुलासा 

आदि आदि। हाम्रा पत्रिका र मिडियामा दिनदिनै आउने समाचार यी र यस्तै हुन् । हाइपरलिन्क दिए पनि, नदिए पनि, यस्तै-यस्तै नितान्त फरक्, परपस्पर विरोधी र एक-आपसमा बेमेल समाचारहरू हाम्रा मिडियामा आइ नै रहन्छन् । यस्ता बोल्नैका लागि मात्र बोलिएका वा कुनै जिम्मेवारी नलिइ बोलिएका विचार र तर्कमा यथार्थमा परिणत हुने कुनै सामान्य किरणको झल्को समेत पाइन्न। तर पनि बोल्ने र छाप्ने अनि उद्घोष गर्ने र चर्चा गर्ने काम भने जारी रहन्छ । 

कुरा कत्तिसम्म समेत हुन्छ भने एकै दिनमा दुई भिन्न नेताले पुर्न विपरीत वेअर्थी वक्तव्य निकाल्छन् । एउटाले 

सहमति भएमा सात दिनमा संविधान सम्भव भएको निर्क्योल निकाल्छन् त अर्कोले

बढेको छ महिनामा पनि संविधान नबन्ने ठोकुवा गर्छ।

दुबैले केवल तनाव वा रोषमा अभिव्यक्ति दिएका हुन्छन्। न त, तीनले सात दिन भन्दैमा सात दिनमा चमत्कार सम्भव हुन्छ। न त, साँच्चै काम गर्ने हो भने छ महिनामा पनि नबन्ने भन्ने कुरा नै सही हुन्छ । तर बोल्नेहरूका थरी-थरीका गँजडीगफले मिडियामा भँगेरे टाउके अक्षरकै स्थान पाउँछन् ।

नेताहरू बोली रहन्छन् र पत्रकार र मिडियाहरू त्यसलाई छापी रहन्छन्, सुनाइ रहन्छन् । सायद, एक अर्थमा पाना भर्ने झमेला टाल्न, आफ्ना पट्टिकाको डम्फु बजाउन र कसैको विरोध र कसैको भजन गाउन समेत यस्ता कार्यले सहयोग गर्ला। तर, लगातारका यस्ता बेवारिसे सन्देश, वजनहिन वक्तव्य र कार्यान्वयन हीन अभिव्यक्तिले नेताको बोलीमा मात्रै हैन, मिडयाको छवि समेत हल्का बनाइ रहेको छ । 

म आफैँ पत्रकार, मिडियाकर्मी वा समाचारसंस्था आबद्द व्यक्ति नभएकोले पनि मलाई यस्तो लागेको हुनसक्छ। हैन भने, कुनै ऐतिहासिक राजा वा बादशाहका झक प्रेरित जस्ता दायित्व विहीन गँजडी गफलाई मिडियामा स्थान दिनुको कुनै मतलब देख्दिन म । अंग्रेजीमा एउटा भनाइ छ “Fool me once, shame on you; fool me twice, shame on me.” एकचोटि कसैले बोलेको कुरामा झुक्किनु वा कसैले झुक्याउँछ भने त्यस कुरामा झुक्याउने व्यक्तिलाई शरमको महसुस हुनु पर्छ । तर दोस्रो चोटि वा बारम्बार कोही झुक्की रहन्छ वा मुर्ख बनि रहन्छ भने त्यो मूर्ख बनिने व्यक्तिलाई शरमको महसुस हुनु पर्छ । 

माथि नै लेखि सकेँ, मेरो मूलाधारको मिडीयासँग कोसौँको परको साइनो पनि छैन, तर अव्यवहारीक, अमूर्त र अजिम्मेवार वक्तव्यको बारम्बार मिडियामा हुने पुनरुक्तिले मलाई बेला-बेलमा भन्ने सोच्ने पर्ने बनाउँछ। के मिडियाकर्मीहरू नेताको हरेक बोलीमा झुक्कीन्छन् त ?, के नेताका हरेक नयाँ वक्तव्यलाई पत्रिकाले साँचो नै ठन्छन् त? । मलाई लाग्छ, मिडिया वा पत्रकारिताको जगतमा यस्ता वक्तव्य, उद्घोष वा मन्तव्यलाई बुझेर वा नबुझेर नै भएपनि छाप्नै पर्ने, भन्नै पर्ने वा देखाउनै पर्ने केही वाध्यता होलान् तर एउटा पाठकको हिसाबमा हेर्ने हो भने मलाई यस्तो कुनै बाध्यता छैन् र यस्ता सबै वेजिम्मेबार खबर मलाई गाईजात्रे पातोमा छापिने हल्का व्यङ्ग्य भन्दा केही फरक लाग्दैनन् । अनि हरेक पटक यस्तै खबर भँगेरा टाउके अक्षरले पत्रिकामा छापिएको देख्दा म सोच्छु ... यी आयतन-हीन समाचारले ठाउँ ओगटि दिँदा कत्तिका स्थान पाउनु पर्ने खबरहरू ओझेलमा परे होलान् । पत्र पत्रिकाले आफ्नो बाध्यतासँग सम्झौता गरि दिनाले कत्तिका सूचनाहरू फैलिन पाएनन् होला। राजनीतिलाई मात्रै समाचार ठानिने सोच हाबी हुनाले कत्ति सामाजिक र जन चासोको विषयहरू प्रकाशित भएनन् होलान् । अनि नेताका हल्का अभिव्यक्तिलाई मात्रै समाचारको शीर्षक ठान्ने मानसिकताका कारण कत्ति बौद्धिक विचारहरू चर्चामै आएनन् होलान् । 

अन्तमा, Arnold Bennett ले कतै भनेका छन्: “Journalists say a thing that they know isn't true, in the hope that if they keep on saying it long enough it will be true.” । सायद, गँजडी गफ पनि धेरै पटक पुनरुक्ति भयो भने साँचो हुन्छ भनेर पनि यस्ता समाचार छापिन्छन् कि। तपाईँ के भन्नुहुन्छ ?
dacharya.blogspot.com

No comments:

Post a Comment