Tuesday, December 25, 2012

दूतावासभित्रैबाट बुनिएको हत्या योजना


सुव्रत दास ! यिनी जुन पेशामा छन्, त्यसले सार्वजनिक परिचय माग्दैन, खोज्दैन । बुझ्ने हिसाबले भन्दा, उनको पेशाका लागि सार्वजनिक परिचय वर्जित छ । किनकि, नेपालस्थित दूतावासमा कन्सुलरको आवरणमा बस्ने यिनी भारतीय बाहृय गुप्तचर संस्था ‘र’ का अधिकारी हुन् ।
भारतीय दूतावासको वेबसाइट होस् वा उनको भिजिटिङ कार्ड, जहाँ पनि उनको पद ‘कन्सुलर’ लेखिएको हुन्थ्यो । यसैलाई गुप्तचरीमा आवरण भनिन्छ । तर उनले नेपालबसाइका क्रममा त्यो आवरण च्यात्ने काम मात्र गरेनन्, हस्तक्षेपकारी रुपसमेत प्रदर्शन गरे । आफ्नो मर्यादासम्म बिर्सेर उनले नेपाल बसाइका क्रममा जे गरे, त्यो घरेलु राजनीतिप्रति सामान्य चासो राख्नेबाट पक्कै पनि लुकेको छैन । यी तिनै सुव्रत दास हुन्, जसले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) परित्याग गरी माओवादी प्रवेश गरेका मधेशी मूलका नेता रामकुमार शर्मालाई २०६७ साउन २० र २१ मा फोन गरी ज्यान मार्ने धम्की दिएका थिए ।
संविधानसभाका सभासद्समेत रहेका शर्मालाई त्यतिबेला धम्क्याइएको थियो, जति बेला माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल र काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री पदको अनिणिर्त दौडमा थिए ।
त्यसबेला ‘र’ का लागि नेपालस्थित मिसन प्रमुख थिए पिटर जेपी हनामन, जो २०६९ भदौमा कार्यकाल सकेर भारत फर्किसकेका छन् । उनीपछिको दोस्रो वरीयताका अधिकृत हुन्- सुव्रत दास । माथि उनले तत्कालीन सभासद् शर्मालाई धम्की दिएको बारे चर्चा गरियो । अब यस्तो तथ्यसँग साक्षात्कार गर्नुस्, जुन प्रकरण हत्याको उद्देश्यसँग सम्बन्धित थियो र त्यसको योजना बनाउनमा दासको प्रत्यक्ष संलग्नता थियो ।
केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीमाथि २०६७ फागुन २६ मा हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहारको योजनामा साथ लिने उद्देश्यले एक भारतीय अधिकारीले हत्या अपराधमा सोही कारागारमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भेटेका थिए । हो, सुव्रत दास तिनै अधिकारी हुन् ।
२०६७ पुस १७ मा एक्लै शोभराजसँग भेटेका दासले भोलिपल्ट आफ्ना हाकिम अर्थात् ‘र’ का लागि नेपालस्थित मिसनका प्रमुख पिटर जेपी हनामनलाई लिएर भेट्न पुगेका थिए । यस्तो भेटको प्रबन्ध मिलाइदिनेमा मुलुकभित्रैका सुरक्षा र जेल प्रशासन अधिकारीहरु थिए । कुनै कूटनीति प्रक्रिया पूरा नगरी असान्दर्भिक व्यक्तिसँगको भेटघाट पक्कै पनि संशयपूर्ण थियो । त्यसैले नेपाली सुरक्षा अधिकारी तथा केन्द्रीय कारागारमा भएको गोली प्रहारको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले यसबारे विस्तृत खोजीसमेत गर्‍यो । यसबाट के खुल्यो भने, युनुसको हत्या गर्ने योजनामा दासको भूमिका महत्वपूर्ण थियो । आयोगले भनेको छ :
कन्सुलर सुव्रत दास कूटनीतिक प्रक्रिया पूरा नगरी नेपाली कारागारमा रहेका कैदीहरुलाई सोझै भेटघाट गर्न आएको देखिएको छ । उनले अन्तर्राष्ट्रिय रुपमै कुख्यात रहेका व्यक्तिलाई भेटघाट गर्न जानुपर्ने कारण देखिँदैन । अर्कोतर्फ भेटघाट गोप्य रुपमा गरिएको छ । निजले भेटघाट गरेपछि नेपालमा युनुस अन्सारीको हत्या गर्ने कार्यमा खटिएका व्यक्तिहरुको आवागमन बढ्दै गएको देखिन्छ । यस प्रकार घटनाका सन्दर्भहरुले निज सुव्रत दासले नेपाली प्रहरी प्रशासनलाई प्रभावमा पारेर युनुस अन्सारीलाई हत्या गर्न सघाउ पुग्ने वातावरण मिलाएको देखिन्छ ।
‘र’ का लागि नेपालस्थित अधिकारी दासलाई कूटनीतिक उन्मुक्ति सम्बन्धी नियमका कारण नेपालमा मुद्दा चलाई कारबाही गर्न सक्ने अवस्था थिएन । त्यसैले जाँचबुझ आयोग, २०६७ ले प्रतिवेदनको परिच्छेद ५ मा ‘दोषी किटान गरेको देहायका व्यक्तिहरुलाई देहाय बमोजिम सजाय सिफारिश गरिएको छ’ भन्दै ‘भारतीय दूतावासका कन्सुलर सुव्रत दासलाई पर्सना-नन-ग्राटा (नेपालमा रहनका लागि अयोग्य) घोषित गर्न’ नेपाल सरकारलाई सिफारिश गरेको छ ।
भारतले नरूचाएको भनिएको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार गठन भएको एक महिनालगत्तै ‘र’ का अधिकारीसमेतको संलग्नतामा उच्च सुरक्षा रहेको केन्द्रीय कारागारमा गोलीकाण्ड हुनु संयोग मात्र थिएन ।
अर्को संयोग के पनि थियो भने, युनुसमाथि गोली प्रहार हुनुभन्दा केही दिनअघि मात्र नेपाल लगायत छिमेकी मुलुक हेर्ने भारतीय गुप्तचर संस्था ‘र’ का स्पेसल सेक्रेटरी आलोक जोशी काठमाडौँ आएका थिए । २०६६ सालसम्म नेपालमै ‘र’ को स्टेसन प्रमुख रहेका जोशी नेपालमा एक साता बिताएर २०६७ फागुन २३ मा स्वदेश फर्केका थिए र फागुन २६ मा युनुसमाथि गोली प्रहार भएको थियो । नेपालमा रहँदा थुप्रै राजनीतिक भेटघाट गरेका जोशीले नयाँ दिल्ली र्फकनुअघि केही उच्च सुरक्षा अधिकृतलाई समेत भेटेका थिए ।
आयोगले आफ्नो प्रतिवेदन खनाल नेतृत्वको सरकारकै पालमा बुझाएको थियो । ‘र’ का अधिकारी दासलाई ‘पर्सना-नन-ग्राटा’ घोषित गर्दै देशनिकाला गर्ने आयोगको सिफारिश ‘राष्ट्रवादी’ भनिएको खनाल नेतृत्वको सरकारले नै लत्याएको अवस्थामा भारतीय सहयोगमै त्यसपछि बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारबाट कार्यान्वयन हुने आशा कसैलाई थिएन ।
तत्कालीन सभासद् शर्मालाई ज्यान मार्ने धम्की दिइएको सन्दर्भमा पनि तत्कालीन संसद्को मानव अधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दासलाई ‘पर्सना-नन-ग्राटा’ घोषणा गर्दै देशनिकाला गर्न सरकारलाई निर्देशन दिएको थियो । तर ‘कठपुतली’ को संज्ञा पाएको तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले, जो आफैँमा कामचलाउ भइसकेको थियो, पनि संसदीय समितिको आदेशलाई बेवास्ता गर्‍यो ।
निकट अतीतमा कुनै पनि कूटनीतिज्ञलाई ‘पर्सना-नन-ग्राटा’ घोषित गरी निकालिएको छैन । त्यो उदाहरण खोज्न एक दशकभन्दा अघिको इतिहास खोतल्नुपर्ने हुन्छ ।
२०५६ पुस २० मा नेपालस्थित पाकिस्तानी दूतावासका एक कर्मचारी वसिम सब्बुरलाई प्रहरीले नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न भन्दै पक्राउ गरेको थियो । नेपालस्थित कूटनीतिज्ञ कुनै अपराधमा संलग्न पाइएमा उसलाई पक्रनुको साटो सरकारी निर्णय गरेर देशनिकाला गर्ने प्रचलन तोडी सब्बुरलाई गैरकूटनीतिक व्यवहार गर्दै पक्राउ गरिएको थियो । त्यस क्रममा उनको निवासलाई २४ घण्टा घेरासमेत हालिएको थियो । तर लगत्तै उनलाई कूटनीतिज्ञको व्यवहार गर्दै ‘पर्सना-नन-ग्राटा’ घोषित गरी देशनिकाला गरियो । उनको गिरफ्तारी कूटनीतिक क्षेत्रमा त्यस बेला ठूलो बहसको विषय बनेको थियो । त्यो घटना तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भएको थियो । त्यसपछि भ्रमण केही समयका लागि स्थगित भयो ।
दुई मुलुकका सरकार प्रमुखबीच द्विपक्षीय वार्ताका क्रममा आफ्नो हात माथि पार्ने उद्देश्यले भारतीय इशारामै सब्बुरको गिरफ्तारी गराइएको जानकारहरुको भनाइ छ ।
जबजब नेपाल-भारत द्विपक्षीय शीर्ष वार्ता हुन लागेको हुन्छ वा कुनै उच्चपदस्थ नेपाली अधिकारी (प्रधानमन्त्री, गृह वा रक्षामन्त्री), नेताको भारत भ्रमण तय हुन्छ वा उच्चपदस्थ भारतीय अधिकारी, नेताको नेपाल आगमनको कार्यक्रम हुन्छ तबतब नेपालमा मुस्लिम समुदायको कुनै न कुनै ‘आतङ्ककारी’ विस्फोटक पदार्थसहित वा कुनै ‘तस्कर’ जाली नोटसहित पक्राउ पर्ने गरेका छन् ।
भारतीय गुप्तचर संस्था ‘र’ का नेपालस्थित एक उच्चपदस्थ अधिकारी नै युनुस हत्याको योजना बुन्ने कार्यमा संलग्न देखिनुुले राष्ट्रिय सुरक्षामाथि चुनौती त थपिदिएको छ नै, यसले मुलुकको सार्वभौम सत्तामाथि नै प्रश्न उठाएको छ । त्यसमाथि उनीविरूद्ध कारबाही गर्न सरकारले खुट्टा कमाएबाट राज्य कुन हदसम्म निरीह छ, सहजै अनुमान गर्न सकिन्छ । यो पहिलो घटना होइन जहाँ राज्य कमजोर देखिएको होस् । यस्ता प्रशस्त घटना छन्, जसमा राज्य पक्ष सबै कुरा थाहा पाएर पनि थाहा नपाएझै गरी बसेको छ ।
जमीम हत्याभन्दा केहीअघि मात्रै २०६६ माघ ४ मा गृहमन्त्री भीम रावल आन्तरिक सुरक्षाका तीनवटै निकायका तत्कालीन प्रमुखहरु प्रहरीका रमेश चन्द ठकुरी, सशस्त्रका सनत बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका अशोकदेव भट्टलाई साथै लिएर भारत भ्रमणमा गएका थिए । त्यस बेला रावलले आफ्ना भारतीय समकक्षीका साथै भारतीय गुप्तचर संस्था ‘र’ का महफ्वपूर्ण पदाधिकारीसँग पनि भेट गरेका थिए । त्यस क्रममा भारतीय पक्षबाट जमिम, युनुस लगायतको नामै लिएर तिनले जाली नोट तस्करी जस्ता कतिपय भारतविरोधी गतिविधि गरिरहेको बारे ध्यानाकर्षण गराइएको थियो । उनीहरुले भनेका थिए, ‘यदि तपाईंहरु यस्ता गतिविधिको नियन्त्रण र त्यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न सक्नुहुन्न भने हामी आफै गर्छौं । सक्नुहुन्छ त्यसमा सहयोग गर्नुस्, नसके असहयोग नगर्नुस् ।’ त्यसपछिका घटनाक्रमले भारतीय पक्ष आफैँ कारबाहीमा ओर्लिएको देखाएका छन् । तत्कालीन गृहमन्त्री रावल उपर्युक्त तीन वटै सुरक्षा प्रमुखलाई लिएर चीन भ्रमणमा -२०६६ माघ २३-फागुन ३ सम्म) गएका थिए । त्यसैबीच २०६६ माघ २४ मा जमिम मारिए । पूर्वसहमति अनुरुप नै तत्कालीन गृहमन्त्री र सुरक्षा प्रमुखहरुलाई अप्ठ्यारामा नपार्नका लागि यस्तो समय रोजिएकोसमेत कतिपय जानकारको भनाइ छ ।
अर्को संयोग के थियो भने, त्यस बेला मुस्लिम समुदायकै मोहम्मद रिजवान अन्सारी गृह राज्यमन्त्री थिए । तर गृहमन्त्री रावल गृहको कार्यभार उनलाई नभई तत्कालीन रक्षामन्त्री विद्या भण्डारीलाई दिएर भारत भ्रमणमा निक्लेका थिए । घटनाक्रम यसरी विकसित भयो, एक महीना नबित्दै गृह राज्यमन्त्री अन्सारीले राजीनामा दिनुपर्‍यो । बाहिरी रुपमा गृहमन्त्री रावलसँगको व्यक्तिगत टकरावका कारण गृह राज्यमन्त्री अन्सारीले राजीनामा गर्नुपरेको देखिए पनि त्यसको भित्री कारण भने जमिम हत्यामा उनले दिएको अभिव्यक्ति र प्रदर्शन गरेको व्यवहार प्रमुख कारण थियो । जमिमको हत्यालाई उनले ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आडमा आपराधिक गिरोहबाट गराइएको’ जनाउदै ‘हत्यारा कसको इशारामा परिचालित थिए, छिट्टै सार्वजनिक गर्ने’ बताएका थिए । त्यति मात्र होइन, मुस्लिम समुदायकै हुनुका नाताले उनले जमिमको शवलाई काँधसमेत दिए । यसबाट चिढिएको भारतीय पक्षले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि गृह राज्यमन्त्री अन्सारीलाई हटाउन दबाव दिएको थियो । प्रधानमन्त्रीले नै राजीनामा मागिसकेपछि अन्सारीसँग अर्को विकल्प थिएन र २०६६ फागुन २६ मा राजीनामा दिए । राजीनामा नदिएको भए प्रधानमन्त्रीले उनलाई बरखास्त गर्ने पक्कापक्की थियो ।
यस्ता गम्भीर प्रकृतिका घटनाको छानबीनका लागि गठन गरिएका आयोगप्रति राज्यका तर्फबाटै उदासीन र असहयोगी व्यवहार प्रदर्शित भएको छ ।सरकारले नै गठन गरेको आयोगलाई सरोकारवाला उच्चपदस्थ सरकारी अधिकृतले सहयोग नगरेको भन्दै एउटा जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा यसरी असन्तुष्टि व्यक्त गरेको छ ः
नेपाल सरकारको निर्णय अनुसार गठित आयोगलाई आवश्यक सहयोग पुर्‍याउने प्रारम्भिक जिम्मेवारी गृह मन्त्रालयको रहेकोमा मन्त्रालयबाट यस आयोगप्रति समुचित ध्यान पुर्‍याइएन । आयोगका पदाधिकारीहरुले टेलिफोन तथा भेटघाटमार्फत आयोगको अवस्था, कामकारबाहीबारे जानकारी गराउँदा पनि गृह मन्त्रालयबाट गरिएको व्यवहारले सहयोगको सट्टा आयोगलाई पूर्ण रुपमा उपेक्षा गरी मनोवैज्ञानिक रुपमा हतोत्साह पार्ने काम भयो । त्यसै गरी आयोगले सुनसरी जिल्लाको स्थलगत भ्रमणको क्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापालाई जानकारी गराउदा पनि कुनै प्रकारको सहयोग र सम्पर्क भएन, गरिएन ।
आयोगले काम गर्दा गृहमन्त्री विजयकुमार गच्छदार थिए । उपप्रधानमन्त्रीको समेत भूमिकामा रहेका उनको निर्वाचन क्षेत्र सुनसरी हो, जहाँका प्रमुख जिल्ला अधिकारीले सहयोग नगरेको आयोगको गुनासो छ । यसबाट पनि गच्छदारको झुकाव र प्रतिबद्धता कता छ भन्ने सङ्केत मिल्छ । सारमा कुरा के हो भने, राज्य (भारत) प्रायोजित अपराधका शृङ्खलामा मुलुकभित्रकै सुरक्षा निकाय मात्र होइन, उच्च तहको राजनीतिक नेतृत्वले पनि प्रत्यक्ष-अप्रत्यक्ष सहयोग/संरक्षण पुर्‍याइरहेको छ ।
(अधिकारीको हालै प्रकाशित चक्रब्यूहमा चन्द्र सूर्य पुस्तकको सम्पादित एक अंश)

Thursday, December 13, 2012

गरे के हुँदैन ?


डाक्टरहरू दुर्गम जानै मान्दैनन् । गए पनि बस्दैनन् । नयाँ डाक्टरका हकमा छात्रवृति करार र लोकसेवा पोष्टिङले उनीहरू बाध्य पार्छ । यस्तो अवस्थामा उनीहरू जे जस्तो हुन्छ, त्यसैमा चित्त बुझाएर सरूवाको प्रतिक्षा गर्छन् । एकडेढ वर्ष विताएपछि विभाग र मन्त्रालय धाउँछन् । पायक पर्ने ठाउँमा सरूवा माग्छन । र, कुनै समय दुर्गम बसेको भन्दै त्यसैको ब्याजमा जीवनभर अवसर लिन्छन् । बल्ल बल्ल गाउँ पुगेका उनीहरूले त्यस अवधीमा के योगदान गरे भन्ने प्रश्न चाहीँ पेचिलै छ । किनकी दुर्गमका अस्पतालहरूको अवस्था उस्तै छ ।

तर यसमा अपवाद हुन्, जुम्लामा कार्यरत डा. विप्लव सापकोटा । २९ वर्षिय सापकोटा कसैले जान नमानेको दुर्गम हिमाली जिल्ला मात्र गएनन, त्यहाँको स्वास्थ्य संभावनाका ढोका खोलिदिए । हुने विरुवाको चिल्लोपात † सापकोटाले आफ्नो क्षमताको झल्को पहिल्यै देखाइसकेका थिए । पहाडी जिल्ला पर्वतको बुडीकुवामा २०३९ सालमा जन्मिएर राजधानीको सिद्धार्थ वनस्थली स्कुल पढेका यी अब्बल विद्यार्थीले छात्रवृतिको अवसर पाएका थिए । शिक्षा मन्त्रालयले पढ्न दिएको छात्रवृतिलाई उनले खेर जान दिएका छैनन् । दूरदराजका विपन्न समुदायका ज्यान बचाउने अभियानमा होमिएका छन् । एमबिबिएस पूरा गरेपछि छात्रवृति करार अन्र्तगत उनले सिन्धुपाल्चोकको जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष सेवा गरे । त्यसले उनलाई ग्रामीण क्षेत्रको स्वस्थ्य अवस्था बुझ्न केही मद्दत पु¥यायो । सेवा करार सके लगतै उनले लोकसेवा भिडे । ०६६ माग २५ गते उनको नाम निस्कियो ।


लोकसेवाले स्वास्थ्य मन्त्रालयलाई सुम्पियो । मन्त्रालयका अधिकारीले उनलाई सोलुखुम्बु, मुस्ताङ र जुम्ला मध्ये एक जिल्ला रोज्न भने । उनलाई सेवा गर्नु थियो, जहाँ जान नि तयार थिए । पुर्खौली थलोको सेवा गर्ने लोभले उनलाई जुम्लातिर तान्यो । अर्को स्वार्थ पनि थियो । उही ब्यवसायमा रहेकी श्रीमती डा.ज्वाला थापाले पनि उनीसँगै लोकसेवामा नाम निकालेकी थिइन् । सकेसम्म दुबैजना एकै स्थानमा जाने उनको चाहना थियो । डाक्टर बस्न नमान्ने जुम्लामा दुई वटै दरवन्दी खाली रहेछ । उनी श्रीमतिसहित गए । हिमाली जिल्लामा पहिलोपटक पुग्दा लटरम्म फलेका स्याऊ देखेर उनी छक्क परे । ‘त्यतिबेला देखिएका स्याऊ जुम्लामा भएको संभावनाको पूर्व संकेत थिए,’ डा. सापकोटा अहिले सम्झन्छन् । तर, त्यहाँको अस्पतालमा केही गरेर देखाउन सक्ने जति संभावना थियो, त्यो भन्दा बढी चुनौतीका चाङ थिए ।

अस्पतालको यो पक्ष चाँही राम्रो छ भन्ने ठाउँै थिएन् । नाम मात्रको जिल्ला अस्पतालमा उनले सेवा प्रारम्भ गरे । डाक्टर आएर लामो समय बसेको देख्दा नै गाउँले दंग थिए । त्यो पनि दुई जना । उनी पुगेकोे झण्डै एक वर्षमा उक्त अस्पताल अञ्चल अस्पतालमा परिणत भयो । विप्लवलाई लाग्यो अब विशेषज्ञ चिकित्सक प्रशस्त हुन्छन् र तीनिहरूका मातहतमा सिक्ने अवसर पाइन्छ । तर, भयो अर्कै । एघारौं तहका विशेषज्ञ चिकित्सकले सम्हाल्नुपर्ने मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी उनी आफैंलाई आइलाग्यो, ०६७ चैतदेखि । विशेषज्ञ पाइएला भनेको ठाउँमा अञ्चल अस्पताललाई स्थापित गर्ने जिम्मेवारी आइलाग्यो । अञ्चल अस्पताल भइसक्दा पनि विरामी नेपालगञ्ज रिफर गर्नुपर्ने थियो । भवन, उपकरण, जनशक्ति केही नै चित्त बुझ्दो थिएन । विरामी रिफर भएर आउनुपर्ने अस्पतालबाट आफंै आँखा चिम्लिएर रिफर गर्नु लाजमर्दो कुरा थियो । उनले विस्तारै त्यसलाई सुधार्ने अठोट गरे । डा.थापासँगै उनलाई त्यस्तै साथी जुर्दै गए । डा. शिब सिमल, डा.पवन हमाल, डा.मिलन खड्का, डा.जीवन परियार जस्ता केही गर्ने भावना भएका । जति चुनौती भए पनि सहकर्मीको उत्साहले केही गर्न सकिने रहेछ भन्ने उनलाई लागेको छ ।

उनले जनशक्ति जुटाउन प्रयास गरे । अस्पतालका लागि आएको बजेटबाट र केन्द्रसँग समन्वय गरेर उपकरणको व्ववस्था गर्न थाले । यसका लागि उनले स्थानीय नेताहरू देखि विभागका अधिकारीसम्मलाई धेरै ‘कन्भिन्स’ गरे । एक्सरे, पेटसम्बन्धी विभिन्न जाँच गर्ने उपकरण जुटाए । शल्याक्रियाका सामाग्री व्यवस्था गरेर शल्यक्रिया कक्ष बनाए । दश वर्षअघि केही सामान किनेर पनि शल्यक्रिया कक्ष बन्न सकेको थिएन् । उनले मेजर र माइनर शल्यक्रिया कक्ष बनाए । त्यसपछि अस्पतालको सेवाले नयाँ मोड लियो ।

जीवन र मृत्युको दोसाँधमा आएका विरामीहरूको उनीहरूले शल्याक्रिया प्रारम्भ गरे । १० महिनाअघि मुगुका ८ वार्षिय बालिका जलदेवी बुढाको पत्थरीको शल्याक्रिया उक्त अस्पतालमा भयो । अष्ट्रेलियाबाट आएका डा मिक र डेभीसहित अस्पतालमा कार्यरत चिकित्सक टोलीले पिशाब नलीमा रहेको पत्थरी शल्याक्रियाबाट निकाल्यो । अहिले अस्पतालमा एपेन्डिक्स, पत्थरी, प्रसुति शल्यक्रिया गरिन्छ । यो सबै सम्भव भएको थियो डा. सापकोटको आँटले ।
केही महिना अघि, इटोपिक प्रिग्नेन्सी (पाठेघरमा बच्चा नबसी बाहिरै बस्ने) समस्या भएकी महिला अस्पतालमा आइन । शल्यक्रिया गर्नुपर्ने शतप्रतिशत जोखिम थियो । अस्पतालमा कसैले रगत खोज्न थाले त कसैले महिलाको शल्यक्रिया गर्न । झण्डै चार पाँच घण्टाको शल्यक्रिया पछि ती महिलाको ज्यान जोगियो । जसरी पनि शल्याक्रिया नगरेको तीनको ज्यान जाने करिब निश्चित थियो । नेपालगञ्ज पु¥याइहाल्न सक्ने अवस्था पनि थिएन ।

त्यस्तै अर्को केस आयो, गर्भवतीको पाठेघरै फुट्न लागिसकेको थियो । पाठेघरको बाहिरै बच्चाको कपाल देखिन्थ्यो । अस्पतालको टिमले उनको पनि सफल शल्यक्रिया ग¥यो । यसरी ज्यान जोगाइएकी महिला थिइन्, जिल्लाकी सहायक सिडिओेको बहिनी । यो शल्यक्रियापछि आम मानिसमा उक्त अस्पतालप्रतिको विश्वास धेरै बढायो । अस्पतालमा पहिलो प्रसुति शल्यक्रिया गत वैशाखमा गरिएको थियो । अस्पतालमै पहिलोपटक गर्न लागिएको शल्यक्रियाबारे डा. सापकोटाले सुरुमा सिडिओेलाई जानकारी गराएका थिए । अहिलेसम्म अस्पतालले धेरै आमा र शिशुको ज्यान जोगाएको छ । विपन्न भएकै कारण अधिकांशको नेपालगञ्ज लैजान सक्ने अवस्था हुँदैन । फेरि समयमा विमान पाउन पनि मुस्किल छ । यसबीचमा अस्पातालले शल्याक्रियाबाट मात्रै झण्डै ७० जनाको सुत्केरी गराएको छ ।
अस्पताल प्रमुखको जिम्मेवारी पाएपछि उनले भएअनुसारको अनुभव, रुची र ज्ञानका आधारमा साथीहरूको जिम्मेवारी बाँडे । र, अहोरात्र सेवाको वातावरण बनाए । अहिले उनी अञ्चलमै पहिलो भेन्टिलेटरसहितको आइसियू कक्षा बनाउने तयारीमा छन् । दन्त चिकित्सा सेवाका लागि त्यसको सेटअप तयार पारिसकेका छन् ।
विष सेवन गरेर अन्तिम अवस्थामा पुगेका मानिसलाई समेत सय दिनसम्म अस्पताल राखेर निको पारेर पठाइएको अनुभव सुनाउँदा डां सापकोटाको मुहारमा खुशी झल्कन्थ्यो । ‘सबैलाई त्यो मानिस बाँच्दैन भन्ने थियो’ उनले भने, ‘तर हाम्रो टोलीले चिकित्सकीय धर्म निर्वाह गरिरह्यो । बाच्छ की बाच्दैन् भनेको मानिसले एकदिन त डाक्टर साप छुर्पी खानहुन्छ भन्दै सोध्यो ।’

डा. सापकोटाको अधिकांश समय अस्पताल वा सोही परिसरमै रहेको क्वाटरमै वित्छ । ‘टाढाबाट आएका विरामीलाई रात साँझ, आपतकालीन वा गैरअपतकालीन भनेर छुट्याउँनै पाइन्न,’ उनले भने । जिल्लामा आफूहरूले गरेको सानो प्रयासले पनि अरुको जीवनमा ठूलो अर्थ राखेको विवरण सम्झिएर उनी खुशी हुन्छन् । उनले एउटा घटना सुनाए– जिल्लाको कुँडारीबाट सुत्केरी ब्यथा लागेको घन्टौपछि पूरै सेतै भएकी एउटी महिलालाई ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण ती महिलामा हेमोग्लोविनको मात्रा समेत जम्मा चार थियो । शल्याक्रिया गर्दा वाँकी रगत पनि गएमा ज्यानै जाने संभावना अधिक थियो । तर, विकल्प पनि थिएन् । यूवा चिकित्सको टोलीले आँट्यो । पवन र डेभी अगाडी सरे । नेतृत्व डां सापकोटाको छँदै थियो । चिकित्सकले पनि रगत दिए । शल्याक्रिया सफल भएर दुई वटा ज्यान बच्यो । आशा मारिसकेको महिला बाँचेपछि गाउँलेले अस्पतालमा अबिरे जात्रा गरे । अहिले उपचारका लागि नेपालगञ्ज जान एयरपोर्टमा लाग्ने लाइन निकै घटिसकेको छ । यूवा टोलीको नेतृत्व अस्पताललाई नमूना बनाउन लागिपरेको छ । जुम्ला आएको अढाई बर्षभन्दा पनि बढी भइसक्दा पनि डा. सापकोटा सरुवा माग्न मन्त्रालय धाएका छैनन् । जहाँ पठाएपनि सेवा गर्ने उनको प्रण छ । भविष्य प्रतिको चिन्ता भने उनलाई अलि बढी नै पिरोल्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पढेर अगाडी एमडी उपाधी झुड्याउँने र पुनः यही तरीकाले विपन्न समुदायको सेवामा लाग्ने उनको धोको छ ।

हचुवाको भरमा नयाँ स्वास्थ्य नीति निर्माण



गिरिराजमणि पोखरेल
पूर्व स्वास्थ्य मन्त्री, स्थायी समिति सदस्य एवं 
स्वास्थ्य विभाग प्रमुख, एनेकपा माओवादी /

कुनै पनि विषयको नीति भनेको दीर्घकालीन रूपमा त्यो क्षेत्रलाई मार्गदर्शन गर्ने बाटो हो । स्वास्थ्य क्षेत्रमा २० वर्ष पुरानो नीतिले काम गरिरहेको अवस्थाको सन्दर्भमा नयाँ नीतिको पहल भएको कुरा सार्वजनिक भएको छ । नीति भनेको व्यापक छलफल र अनुसन्धानपछि मात्रै वैज्ञानिक धरातलमा उभिएको हुनुपर्छ । मेरो बुझाईमा नेपालको वतर्मान नयाँ स्वास्थ्य नीति निर्माणको पृष्ठभुमिमा पाँच महत्वपूर्ण कारण रहेका छन् ।
सबैभन्दा पहिलो, राष्ट्रमा युगान्तकारी परिवर्तन भएको छ । परिवर्तनले समाजको आधार र ढाँचा दुवैमा प्रभाव छोडेको छ । स्वास्थ्य नीतिमा सबैभन्दा पहिला राजनीतिक परिवर्तनको प्रतिबिम्ब आउनुपर्छ ।
दोस्रो, त्यही परिवर्तनको जगमा आएको अन्तरिम संविधानमा निहीत स्वास्थ्य सम्बन्धी व्यवस्था हो । स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिएको छ । अधिकारवादी दृष्टिकोणको आधारमा स्वास्थ्यको नयाँ यात्रा सुरु भएको छ । २०४८ सालको स्वास्थ्य नीति निजीकरणको दर्शनमा बनेको थियो ।  तेस्रो, २० वर्षको अवधिमा स्वास्थ्यमा नयाँनयाँ समस्याहरु देखिएका छन् । रोगको अवस्था तर्फ कुरा गर्दा पहिला सर्ने रोगको प्रकोप थियो तर अहिले नसर्ने रोग, मानसिक रोग र द्वन्द्वले दिएका नयाँ समस्या देखापरेका छन् । जलवायु परिवर्तनका कारणले नयाँ÷नयाँ रोग देखिन थालेका छन् । नीतिले रोगको मात्रा र चरित्रमा आएको परिवर्तनलाई सम्बोधन गर्न सक्नुपर्छ ।
चौथो,  स्वास्थ्य जनशक्तिमा पुर्नसंरचना आवश्यक छ । ५० लाख जनसंख्या हुँदा बनाइएको संरचना नै आजसम्म पनि चलिरहेको छ । यसले नयाँ जिम्मेवारी निर्वाह गर्नै सक्दैन । पाँचौ भनेको हाम्रो स्वास्थ्य नै संक्रमणमा छ । नेपाल स्वास्थ्यबाट केही गर्नसक्ने अवस्थामा छ । सहश्राब्दी विकास लक्ष्य पुरा गर्न सक्ने सम्भावना बढेको छ  । त्यस्तै स्वास्थ्य सेवामा मानिसको अपेक्षा पनि बढेर गएको छ । यसकारणले स्वास्थ्य प्रदायक संस्थामा चुनौती त्यति नै थपिएको छ । साना घटनाले पनि ठुलो आक्रमणको रूप लिन थालेका छन् । अब स्वास्थ्य प्रणालीमा नै अपडेट गर्नु जरुरी देखिएको छ ।
नीतिका लागि नीति भन्दा पनि उल्लेखित आवश्यकतालाई संवोधन गर्न नयाँ स्वास्थ्य नीति जरुरी छ ।
नयाँ स्वास्थ्य नीति बनाउनुपूर्व ०४८ सालको राष्ट्रिय स्वास्थ्य नीतिको समीक्षा गर्नुपर्छ । तत्कालिन सामाजिक र आर्थिक पृष्ठभूमी साथै विश्व परिवेश हेरेर समीक्षा गर्नुपर्छ । ०४८ सालको नीतिका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । त्यो नीति मुख्य १३ वटा बुँदामा केन्द्रित थियो । तत्कालिन समयमा नेपाली काँग्रेसको नेतृत्व थियो । अन्तराष्ट्रिय रुपमा  सन् १९७० को दशकमा विश्वमा भूमण्डलिकरणको नयाँ अवधारणा आयो । यसले निजीकरण र उदारीकरणलाई जोड दियो । काँग्रेस यसै कुरामा गयो । जसको प्रभाव स्वास्थ्य नीतिमा पनि प¥यो । यो सामाजिक परिवेशमा उपयुक्त थिएन ।
अन्तराष्ट्रिय ऐतिहासिक पृष्ठभूमी हेर्दा संयुक्त राष्ट्रसंघको स्थापनाको एक वर्षपछि विश्व स्वास्थ्य संगठनको स्थापना भयो र संगठनले जनस्वास्थ्यको अवधारणा ल्यायो । तर पश्चिमा चिकित्सा मोडलले स्वास्थ्यका समस्यालाई हल गर्न सकेन । विकासोन्मुख देशका लागि त्यो उपयुक्त थिएन । यसले गर्दा धनी र गरिबबीच ठुलो खाडल देखाप¥यो । यो नकारात्मक अनुभव र चीन लगायत केही देशको स्वास्थ्य सफलताबाट प्रेरित भएर विश्व स्वास्थ्य संगठनले सन् १९७८ मा स्वास्थ्य क्षेत्रकै सबैभन्दा महत्वपूर्ण मानिएको अल्माआटा घोषणा जारी ग¥यो ।
अल्माआटा घोषणापत्रले प्राथमिक स्वास्थ्य सिद्धान्तको अवधारणा ल्यायो । जसलाई प्राइमरी हेल्थ कन्सेप्ट (पिएचसी) थेउरी भनिन्छ । पिएचसीको सिद्धान्त लागुगर्ने प्रारम्भिक चरणमै बहुराष्ट्रिय कम्पनीमार्फत प्राथमिक स्वास्थ्यको सिद्धान्तलाई कमजोर पार्न सेलेक्टिभ प्राइमरी हेल्थ कन्सेप्ट (एसपिएचसी) थेउरी आयो । यसले निश्चित क्षेत्रका लागि प्राथमिक स्वास्थ्य हुुनुपर्छ भन्यो । यसले गर्दा नागरिकले आफ्नो स्वास्थ्यको व्यवस्थापन आफँै गर्नुपर्ने अवस्थाको सृजना भयो ।
हालसम्मको अवस्था हेर्ने हो भने स्वास्थ्यमा तीन थरीका स्वास्थ्य प्रणाली प्रयोगमा आएका छन् । निजीकरणमा आधारित, लोक कल्याणकारी र समाजवादी स्वास्थ्य प्रणाली । निजीकरणमा आधारित एसपिएचसी अवधारणाले स्वास्थ्यमा शुल्क लिने प्रक्रिया थाल्यो  । नेपाली काँग्रेसले यही बाढीमा बगेर ०४८ सालको स्वास्थ्य नीति बनायो  । तर पनि ०४८ सालको स्वास्थ्य नीतिले गाँउ–गाँउमा स्वास्थ्य संरचना खडा गर्न, जनस्वास्थ्य र अस्पताललाई संयोजन गर्ने काम र गाँउ–गाँउमा महिला स्वास्थ्य स्वयंसेविका निर्माण गर्न सकारात्मक योगदान दिएको छ  ।
०४८ को नीतिको कमजोरी धेरै रह्यो । पञ्चायतकालमा पनि जनताको स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने आंशिक स्विकारोक्ति थियो । तर ०४८ को नीतिले यसलाई पनि कटौती ग¥यो र स्वास्थ्य सेवामा शुल्क लिने प्रथाको शुरुवात भयो । विकेन्द्रिकरणको सिद्धान्तअनुसार स्वास्थ्य संस्था समुदायलाई दिने भनेर हस्तान्तरण गरियो । अनियन्त्रित ढंगले निजी क्षेत्रको प्रवेश गराइयो । यसले गर्दा स्वास्थ्यमा पहुँच भएका र नभएका समुदाय बीचमा ठुलो खाडल देखाप¥यो । निजी क्षेत्रको प्रवेशले शहरी क्षेत्रमा सेवाको आकार बढाएपनि सेवाको गुणस्तरमा शहर र ग्रामीण भेगमा ठुलो खाडल देखाप¥यो ।
नयाँ नीतिमा पाँचवटा सैद्धान्तिक पक्ष कुनै हालतमा पनि छुट्नु हुँदैन । पहिलो, युगान्तकारी परिवर्तनको ऐनाको रुपमा नयाँ स्वास्थ्य नीति बन्नुपर्छ । नेपालमा भएका साना ठुला आन्दोलनहरु जस्तै मधेस, जातीय, क्षेत्रिय, लैगिंकलगायतका आन्दोलनको मर्मअनुसार नयाँ नीति बन्नुपर्छ । किनकी सबै पक्षले स्वास्थ्य सेवामा पनि परिवर्तन खोजेका छन् । यो कुरा नीतिमा देखिनु पर्छ । हुनतः हाम्रो स्वास्थ्य नीति समाजवाद उन्मुख हुनुपर्छ तर अहिले नेपालमा समाजवादी र पुँजीवादीसँगै मिलेर हिँडेकाले यसको साझा बिन्दु नयाँ नीतिमा खोजिनुपर्छ । लोककल्याणकारी मान्यतामा आधारित मिश्रीत प्रणालीमा गएर स्वास्थ्यलाई नैसर्गिक अधिकारका रुपमा स्थापित गराउन सकिन्छ ।
दोस्रो, सबै पक्षको प्रतिनिधित्वका लागि हामी पनि प्राथमिक स्वास्थ्यको सिद्धान्तमा जानुपर्छ । यसलाई आंशिकरुपमा ग्रहण गर्ने होइन सम्पूर्णतामा आत्मसात गर्न जरुरी छ । अन्तराष्ट्रिय परिवेश हेर्दा  विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गल्ती सच्याएर प्राथमिक स्वास्थ्य सिद्धान्तलाई पुर्नःजागरणमा लगेको छ । उनीहरु प्राथमिक स्वास्थ्यको सिद्धान्तलाई पूर्नताजगी गर्ने, महिला सशक्तिकरण र अफ्रीकामा देखिएका स्वास्थ्य समस्याप्रति केन्द्रित छन् । त्यसैले हाम्रो मुलुकका लागि यो अनुकुल स्थिति हो ।
स्वास्थ्य नीतिको तेस्रो सैद्धान्तिक पाटोमा कुरा गर्ने हो भने देश संघीयतामा जाँदैछ । भोली संघीयतामा गएपछि स्वास्थ्य संरचना कस्तो हुने भनेर व्यापक छलफल, बहस गर्नुपर्छ । राज्य पूर्नसंरचना आयोगले स्वास्थ्य नीतिलाई संघको सुचीभित्र राखेको छ । स्वास्थ्य सेवालाई आयोगले प्रदेशको अधिकारको सुचीभित्र राखेको छ । कतिपय सेवालाई साझा अधिकार सुचिको रुपमा राखेको छ । यस्ता कुरामा पनि नीतिले ध्यान पु¥याउँनुपर्छ । नेपालका लागि संघीयता भनेको राष्ट्रिय एकिकरण हो । संघीयतामा स्वास्थ्य सेवाले पुलको काम गर्न सक्नुपर्छ । भावी संघीय शासन अन्र्तगतका आवश्यक जनशक्ति उत्पादन गर्ने कार्य नीतिले  अहिले नै प्रष्ट पार्नु पर्छ ।
चौथो, स्वास्थ्य क्षेत्रमा लोकतान्त्रिकरण गर्ने भनेको नीतिले नै हो । यसले शहर र गाँउ बीचको  दूरी मेट्न सक्नुपर्छ । स्वास्थ्यको आर्थिक जिम्मेवारी राज्यले लिने र व्यवस्थापन गर्ने जिम्मा जनतालाई दिनुपर्छ । सेकेण्ड्री र टर्सरी केयरको जिम्मेवारी राज्यले लिन नसकेकाले यस्तो सेवाको लागि एकातिर सहकारी स्वास्थ्यद्वारा जनसमुदायलाई परिचालन गर्न सक्नुपर्छ भने अर्कोतिर निजी क्षेत्रसँग साझेदारी गर्नुपर्छ । गरिब, असहाय र दुःखीका लागि सामुदायिक बिमाको व्यवस्था गरी त्यसको शुल्क राज्यले तिर्नुपर्छ ।
पाँच, स्वास्थ्य मन्त्रालय त एलोपेथी मन्त्रालय जस्तै भएको छ । नेपालको परम्परागत उपचार पद्धती, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियाप्याथि र अन्य वैकल्पिक उपचार पद्धतिलाई पनि नीतिले समेट्न सक्नुपर्छ ।
त्यस्तै स्वास्थ्यका सबै समस्या एक्लो स्वास्थ्य मन्त्रालयले मात्रै हल गर्न सक्दैन । त्यसैले वियोन्ड हेल्थको अवधारणामा जानुपर्छ । स्वास्थ्यसँग अन्तरसम्बन्धित खानेपानी, सरसफाई, पोषण, वातावरण र शिक्षालाई संयोजन गर्ने बहुपक्षिय संयन्त्र र पद्धति निर्माण गर्नुपर्छ । यसको नेतृत्व स्वास्थ्यले गर्ने र अरुको भूमिका पुरक बनाउनु पर्छ ।
यतिबेला स्वास्थ्य नीतिको व्यवहारिक पाटो पनि केलाउनु जरुरी हुन्छ । स्वास्थ्य अधिकारको रुपमा स्थापित भएकाले राज्य, समुदाय, निजी क्षेत्र,परिवार र व्यक्तिको  जिम्मेवारी प्रष्ट गर्नु टड्कारो आवश्यकता देखिएको छ । स्वास्थ्य प्रणालीका महत्वपूर्ण तत्वहरु जनशक्ति, औषधि, भौतिक पूर्वाधार, उपकरण र अनुगमनको सुदृढिकरण गर्नुपर्छ ।
नयाँ स्वास्थ्य नीतिले सबै चिकित्सा पद्धतिलाई समेट्न सक्नुपर्छ । किनकी सेवापद्धती रोज्ने अधिकार पनि सेवाग्राहीको नै हो ।
नीतिले स्वास्थ्यका नयाँ समस्यालाई नयाँ प्राथमिकतामा पार्नुपर्छ । यसले माग गरेका नयाँ संरचना पनि बनाउनु पर्छ ।
समस्याको विश्लेषण गरेर हेर्दा नेपालको जनशक्ति उत्पादन गर्ने प्रणालीमा पनि अपडेट जरुरी देखिएको छ । ग्रामीण भेगका लागि ग्रामीण भेगकै जनशक्ति उत्पादन गर्ने नीति सरकारले ल्याउनुपर्छ । जनशक्तिलाई यथेष्ट मात्रामा इन्सेन्टिभ र सुविधा दिएर ग्रामीण भेगमा सेवाका लागि आकर्षित गर्नसक्नु पर्छ । स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले स्वास्थ्यमा ट्रेड युनियनवाद हावी हुनुहँदैन । पेशागत मर्यादा लागु गर्न सक्नुपर्छ । स्वास्थ्यले नेतृत्व लिएर बहुपक्षीय समन्वयगरी अगाडि बढ्न सक्नुपर्छ ।
२०६२/६३ सालको जनआन्दोलन पछि बनेको लोकतान्त्रिक सरकारले ०४८ सालको स्वास्थ्य नीतिलाई पूनरावलोकन गर्ने कामको शुरुवात गर्न थालेको थियो । म स्वास्थ्यमन्त्री भएको बेला नयाँ नीति बनाउने पहल शुरु भएको थियो । मैले स्वास्थ्य नीति सल्लाहकार समिति पनि गठन गरेको थिएँ । समितिमा सबै क्षेत्रका विज्ञलाई समेटिएको थियो । नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम दुई (एनएचएसपी–२) बनाउने तयारीसँगै नयाँ नीतिको काम पनि शुरुवात भएको थियो । तर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि त्यो प्रकृया विथोलियो । क.शक्ति बस्नेत स्वास्थ्यमन्त्री  भएपछि नयाँ स्वास्थ्य नीति बनाउने कार्यक्रम आएको हो ।
सामान्यतः स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका र सरकार भन्दा बाहिर रहेका व्यक्तिलाई समेटेर नीति मस्यौदा समिति बनाउनु राम्रो हुन्छ । यो दृष्टिकोणसँग सम्बन्धित सवाल हो । जे भए पनि त्यस समितिले स्वास्थ्य मन्त्रीलाई मस्यौदा पेश गरेपछि मिडियामार्फत मस्यौदा सार्वजनिक गरी व्यापक बहस गर्नुपर्छ । त्यसमा जनप्रतिनिधि, सरोकारवाला र दलहरुलाई सामेल गर्नुपर्छ । तर अहिलेको नयाँ नीतिको मस्यौदा समितिमा सबै पक्षलाई सामेल गर्न सकिएको छैन । कर्मचारीतन्त्र हावी भएर नीति बनाउन लागेको जस्तो देखिन्छ । एन्जिओले मात्र गैरसरकारी क्षेत्रलाई समेट्दैन । जनशक्ति उत्पादनको क्षेत्रमा काम गर्नेहरुको यसमा प्रतिनिधित्व देखिँदैन । नयाँ नीति निर्माणको संरचनागत पक्ष नै उपयुक्त छैन ।
मैले मिडियाका साथीमार्फत नयाँ स्वास्थ्य नीतिको मस्यौदा हेर्ने अवसर पाँए । म पूर्व स्वास्थ्य मन्त्री, महिला बालबालिका तथा समाजकल्याण समितिको सदस्य र देशकै ठुलो पार्टी एनेकपा माओवादीको स्वास्थ्य विभाग प्रमुख भएर पनि औपचारीक रुपमा नयाँ स्वास्थ्य नीतिको मस्यौदाका बारेमा जानकारी पाएको छैन । यसले पनि नयाँ नीति हचुवाको भरमा ल्याउन लागेको प्रमाणित हुन्छ  । मस्यौदा हेर्दा पनि यो तयारी बिना बनाएको प्रमाणित हुन्छ । हतारमा नीति ल्याएर नाम रहन्छ भन्ने सोच कसैमा छ भने त्यो गम्भीर भुल हुनेछ । नीति जो सरकारमा छ उसको मात्रै सरोकारको विषय हैन । नीतिमा सबै क्षेत्रको राय, व्यापक छलफलबाट उठेका विषयमा धेरै चरणमा बहस गरेर अगाडि बढ्नुपर्छ ।