Thursday, December 13, 2012

गरे के हुँदैन ?


डाक्टरहरू दुर्गम जानै मान्दैनन् । गए पनि बस्दैनन् । नयाँ डाक्टरका हकमा छात्रवृति करार र लोकसेवा पोष्टिङले उनीहरू बाध्य पार्छ । यस्तो अवस्थामा उनीहरू जे जस्तो हुन्छ, त्यसैमा चित्त बुझाएर सरूवाको प्रतिक्षा गर्छन् । एकडेढ वर्ष विताएपछि विभाग र मन्त्रालय धाउँछन् । पायक पर्ने ठाउँमा सरूवा माग्छन । र, कुनै समय दुर्गम बसेको भन्दै त्यसैको ब्याजमा जीवनभर अवसर लिन्छन् । बल्ल बल्ल गाउँ पुगेका उनीहरूले त्यस अवधीमा के योगदान गरे भन्ने प्रश्न चाहीँ पेचिलै छ । किनकी दुर्गमका अस्पतालहरूको अवस्था उस्तै छ ।

तर यसमा अपवाद हुन्, जुम्लामा कार्यरत डा. विप्लव सापकोटा । २९ वर्षिय सापकोटा कसैले जान नमानेको दुर्गम हिमाली जिल्ला मात्र गएनन, त्यहाँको स्वास्थ्य संभावनाका ढोका खोलिदिए । हुने विरुवाको चिल्लोपात † सापकोटाले आफ्नो क्षमताको झल्को पहिल्यै देखाइसकेका थिए । पहाडी जिल्ला पर्वतको बुडीकुवामा २०३९ सालमा जन्मिएर राजधानीको सिद्धार्थ वनस्थली स्कुल पढेका यी अब्बल विद्यार्थीले छात्रवृतिको अवसर पाएका थिए । शिक्षा मन्त्रालयले पढ्न दिएको छात्रवृतिलाई उनले खेर जान दिएका छैनन् । दूरदराजका विपन्न समुदायका ज्यान बचाउने अभियानमा होमिएका छन् । एमबिबिएस पूरा गरेपछि छात्रवृति करार अन्र्तगत उनले सिन्धुपाल्चोकको जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष सेवा गरे । त्यसले उनलाई ग्रामीण क्षेत्रको स्वस्थ्य अवस्था बुझ्न केही मद्दत पु¥यायो । सेवा करार सके लगतै उनले लोकसेवा भिडे । ०६६ माग २५ गते उनको नाम निस्कियो ।


लोकसेवाले स्वास्थ्य मन्त्रालयलाई सुम्पियो । मन्त्रालयका अधिकारीले उनलाई सोलुखुम्बु, मुस्ताङ र जुम्ला मध्ये एक जिल्ला रोज्न भने । उनलाई सेवा गर्नु थियो, जहाँ जान नि तयार थिए । पुर्खौली थलोको सेवा गर्ने लोभले उनलाई जुम्लातिर तान्यो । अर्को स्वार्थ पनि थियो । उही ब्यवसायमा रहेकी श्रीमती डा.ज्वाला थापाले पनि उनीसँगै लोकसेवामा नाम निकालेकी थिइन् । सकेसम्म दुबैजना एकै स्थानमा जाने उनको चाहना थियो । डाक्टर बस्न नमान्ने जुम्लामा दुई वटै दरवन्दी खाली रहेछ । उनी श्रीमतिसहित गए । हिमाली जिल्लामा पहिलोपटक पुग्दा लटरम्म फलेका स्याऊ देखेर उनी छक्क परे । ‘त्यतिबेला देखिएका स्याऊ जुम्लामा भएको संभावनाको पूर्व संकेत थिए,’ डा. सापकोटा अहिले सम्झन्छन् । तर, त्यहाँको अस्पतालमा केही गरेर देखाउन सक्ने जति संभावना थियो, त्यो भन्दा बढी चुनौतीका चाङ थिए ।

अस्पतालको यो पक्ष चाँही राम्रो छ भन्ने ठाउँै थिएन् । नाम मात्रको जिल्ला अस्पतालमा उनले सेवा प्रारम्भ गरे । डाक्टर आएर लामो समय बसेको देख्दा नै गाउँले दंग थिए । त्यो पनि दुई जना । उनी पुगेकोे झण्डै एक वर्षमा उक्त अस्पताल अञ्चल अस्पतालमा परिणत भयो । विप्लवलाई लाग्यो अब विशेषज्ञ चिकित्सक प्रशस्त हुन्छन् र तीनिहरूका मातहतमा सिक्ने अवसर पाइन्छ । तर, भयो अर्कै । एघारौं तहका विशेषज्ञ चिकित्सकले सम्हाल्नुपर्ने मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारी उनी आफैंलाई आइलाग्यो, ०६७ चैतदेखि । विशेषज्ञ पाइएला भनेको ठाउँमा अञ्चल अस्पताललाई स्थापित गर्ने जिम्मेवारी आइलाग्यो । अञ्चल अस्पताल भइसक्दा पनि विरामी नेपालगञ्ज रिफर गर्नुपर्ने थियो । भवन, उपकरण, जनशक्ति केही नै चित्त बुझ्दो थिएन । विरामी रिफर भएर आउनुपर्ने अस्पतालबाट आफंै आँखा चिम्लिएर रिफर गर्नु लाजमर्दो कुरा थियो । उनले विस्तारै त्यसलाई सुधार्ने अठोट गरे । डा.थापासँगै उनलाई त्यस्तै साथी जुर्दै गए । डा. शिब सिमल, डा.पवन हमाल, डा.मिलन खड्का, डा.जीवन परियार जस्ता केही गर्ने भावना भएका । जति चुनौती भए पनि सहकर्मीको उत्साहले केही गर्न सकिने रहेछ भन्ने उनलाई लागेको छ ।

उनले जनशक्ति जुटाउन प्रयास गरे । अस्पतालका लागि आएको बजेटबाट र केन्द्रसँग समन्वय गरेर उपकरणको व्ववस्था गर्न थाले । यसका लागि उनले स्थानीय नेताहरू देखि विभागका अधिकारीसम्मलाई धेरै ‘कन्भिन्स’ गरे । एक्सरे, पेटसम्बन्धी विभिन्न जाँच गर्ने उपकरण जुटाए । शल्याक्रियाका सामाग्री व्यवस्था गरेर शल्यक्रिया कक्ष बनाए । दश वर्षअघि केही सामान किनेर पनि शल्यक्रिया कक्ष बन्न सकेको थिएन् । उनले मेजर र माइनर शल्यक्रिया कक्ष बनाए । त्यसपछि अस्पतालको सेवाले नयाँ मोड लियो ।

जीवन र मृत्युको दोसाँधमा आएका विरामीहरूको उनीहरूले शल्याक्रिया प्रारम्भ गरे । १० महिनाअघि मुगुका ८ वार्षिय बालिका जलदेवी बुढाको पत्थरीको शल्याक्रिया उक्त अस्पतालमा भयो । अष्ट्रेलियाबाट आएका डा मिक र डेभीसहित अस्पतालमा कार्यरत चिकित्सक टोलीले पिशाब नलीमा रहेको पत्थरी शल्याक्रियाबाट निकाल्यो । अहिले अस्पतालमा एपेन्डिक्स, पत्थरी, प्रसुति शल्यक्रिया गरिन्छ । यो सबै सम्भव भएको थियो डा. सापकोटको आँटले ।
केही महिना अघि, इटोपिक प्रिग्नेन्सी (पाठेघरमा बच्चा नबसी बाहिरै बस्ने) समस्या भएकी महिला अस्पतालमा आइन । शल्यक्रिया गर्नुपर्ने शतप्रतिशत जोखिम थियो । अस्पतालमा कसैले रगत खोज्न थाले त कसैले महिलाको शल्यक्रिया गर्न । झण्डै चार पाँच घण्टाको शल्यक्रिया पछि ती महिलाको ज्यान जोगियो । जसरी पनि शल्याक्रिया नगरेको तीनको ज्यान जाने करिब निश्चित थियो । नेपालगञ्ज पु¥याइहाल्न सक्ने अवस्था पनि थिएन ।

त्यस्तै अर्को केस आयो, गर्भवतीको पाठेघरै फुट्न लागिसकेको थियो । पाठेघरको बाहिरै बच्चाको कपाल देखिन्थ्यो । अस्पतालको टिमले उनको पनि सफल शल्यक्रिया ग¥यो । यसरी ज्यान जोगाइएकी महिला थिइन्, जिल्लाकी सहायक सिडिओेको बहिनी । यो शल्यक्रियापछि आम मानिसमा उक्त अस्पतालप्रतिको विश्वास धेरै बढायो । अस्पतालमा पहिलो प्रसुति शल्यक्रिया गत वैशाखमा गरिएको थियो । अस्पतालमै पहिलोपटक गर्न लागिएको शल्यक्रियाबारे डा. सापकोटाले सुरुमा सिडिओेलाई जानकारी गराएका थिए । अहिलेसम्म अस्पतालले धेरै आमा र शिशुको ज्यान जोगाएको छ । विपन्न भएकै कारण अधिकांशको नेपालगञ्ज लैजान सक्ने अवस्था हुँदैन । फेरि समयमा विमान पाउन पनि मुस्किल छ । यसबीचमा अस्पातालले शल्याक्रियाबाट मात्रै झण्डै ७० जनाको सुत्केरी गराएको छ ।
अस्पताल प्रमुखको जिम्मेवारी पाएपछि उनले भएअनुसारको अनुभव, रुची र ज्ञानका आधारमा साथीहरूको जिम्मेवारी बाँडे । र, अहोरात्र सेवाको वातावरण बनाए । अहिले उनी अञ्चलमै पहिलो भेन्टिलेटरसहितको आइसियू कक्षा बनाउने तयारीमा छन् । दन्त चिकित्सा सेवाका लागि त्यसको सेटअप तयार पारिसकेका छन् ।
विष सेवन गरेर अन्तिम अवस्थामा पुगेका मानिसलाई समेत सय दिनसम्म अस्पताल राखेर निको पारेर पठाइएको अनुभव सुनाउँदा डां सापकोटाको मुहारमा खुशी झल्कन्थ्यो । ‘सबैलाई त्यो मानिस बाँच्दैन भन्ने थियो’ उनले भने, ‘तर हाम्रो टोलीले चिकित्सकीय धर्म निर्वाह गरिरह्यो । बाच्छ की बाच्दैन् भनेको मानिसले एकदिन त डाक्टर साप छुर्पी खानहुन्छ भन्दै सोध्यो ।’

डा. सापकोटाको अधिकांश समय अस्पताल वा सोही परिसरमै रहेको क्वाटरमै वित्छ । ‘टाढाबाट आएका विरामीलाई रात साँझ, आपतकालीन वा गैरअपतकालीन भनेर छुट्याउँनै पाइन्न,’ उनले भने । जिल्लामा आफूहरूले गरेको सानो प्रयासले पनि अरुको जीवनमा ठूलो अर्थ राखेको विवरण सम्झिएर उनी खुशी हुन्छन् । उनले एउटा घटना सुनाए– जिल्लाको कुँडारीबाट सुत्केरी ब्यथा लागेको घन्टौपछि पूरै सेतै भएकी एउटी महिलालाई ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण ती महिलामा हेमोग्लोविनको मात्रा समेत जम्मा चार थियो । शल्याक्रिया गर्दा वाँकी रगत पनि गएमा ज्यानै जाने संभावना अधिक थियो । तर, विकल्प पनि थिएन् । यूवा चिकित्सको टोलीले आँट्यो । पवन र डेभी अगाडी सरे । नेतृत्व डां सापकोटाको छँदै थियो । चिकित्सकले पनि रगत दिए । शल्याक्रिया सफल भएर दुई वटा ज्यान बच्यो । आशा मारिसकेको महिला बाँचेपछि गाउँलेले अस्पतालमा अबिरे जात्रा गरे । अहिले उपचारका लागि नेपालगञ्ज जान एयरपोर्टमा लाग्ने लाइन निकै घटिसकेको छ । यूवा टोलीको नेतृत्व अस्पताललाई नमूना बनाउन लागिपरेको छ । जुम्ला आएको अढाई बर्षभन्दा पनि बढी भइसक्दा पनि डा. सापकोटा सरुवा माग्न मन्त्रालय धाएका छैनन् । जहाँ पठाएपनि सेवा गर्ने उनको प्रण छ । भविष्य प्रतिको चिन्ता भने उनलाई अलि बढी नै पिरोल्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पढेर अगाडी एमडी उपाधी झुड्याउँने र पुनः यही तरीकाले विपन्न समुदायको सेवामा लाग्ने उनको धोको छ ।

No comments:

Post a Comment